साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई – Himalayan Dainik

साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई


साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई

काठमाडौं –  साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ ।

साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले उहाँलाई पुरस्कृत गर्नुभयो । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।

त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा रेग्मीले श्रीबाबु कार्कीद्वारा लिखित ‘संदिग्ध शताब्दी’ र डा दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित ‘डोल्पो ओ डोल्पो’ निबन्ध सङ्ग्रह विमोचन गर्नुभएको हो ।

कार्यक्रममा सचिव डा रेग्मीले साहित्य सृजना गर्ने लेखकले पुस्तक प्रकाशन गरेर ज्यादै दुःख पाउनुपरेको बताउनुभयो । “लेखकले पुस्तक आफूले लेखेका रचनालाई पुस्तकका रूपमा उतार्न ज्यादै कठिन छ, त्यसपछि प्रकाशन चहारेर प्रकाशन गराउन अर्को कठिनाइ छ, बल्ल प्रकाशन भएर बजार गयो, बिक्री भएर पछि पारिश्रमिक पाउन कठिन छ”, उहाँले भन्नुभयो, “यस्ता समस्यालाई समाधान गर्न हामी लागि पर्नेछौँ, साझा प्रकाशन सबै लेखकलाई आश्रय दिने थलो हुनेछ । यस क्षेत्रमा काम गर्न साझालाई मेरो सहयोग रहनेछ ।”

पुरस्कृत व्यक्तित्व प्राध्यापक ढुङ्गानाले पुरस्कारको लोभमा नभई पूर्वीय वाङ्मयको जानकारी दिन किताब लेखेको बताउनुभयो । “पुरस्कार पाउँछु भन्ने लोभमा किताब निकालेको हैन, पढाउने क्रममा पूर्वीय वाङ्मयको जानकारी दिने खालका उपयुक्त किताबहरू आवश्यक छ भन्ने लाग्यो, त्यसक्रममा पाठकको मानसिकताअनुसार किताब लेख्ने विचार आयो, धेरै मेहनत गरेर किताब निकाल्न सफल भएँ”, उहाँले भन्नुभयो, “एक वर्ष नपुग्दै मेरो कृति चर्चामा पुग्न सफल भयो, पुरस्कारका लागि योग्य ठान्नु भो, यसका लागि कृतज्ञता व्यक्त गर्दछु ।”

प्रा डा माधवप्रसाद पोखरेलले नयाँनयाँ प्रविधिको सुविधाले लेख्ने, पढ्ने र सृजना गर्ने संस्कृति हराएकामा चिन्ता व्यक्त गर्नुभयो । “प्रविधिले अहिलेको पुस्तामा सृजना गर्ने शक्ति हराएको छ”, प्राडा पोखरेलले भन्नुभयो ।

साझा प्रकाशनका अध्यक्ष विजय सुब्बाले विगतमा साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाइएका कारण साझा प्रकाशन सङ्कटकालीन अवस्थामा आएको बताउनुभयो ।

“साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाउने मन्त्री र मन्त्रालयका कारण यो अवस्था आइपुगेको हो”, अध्यक्ष सुब्बाले भन्नुभयो, “साझा नबुझ्ने मन्त्री र सचिव मात्रै हैन । साझालाई बिगार्न साथ दिने कर्मचारी पनि रहेकाले अहिले पनि समस्यामा रहेको छ । यसलाई सुधार्न हामी लागिपरेका छौँ ।