बुथ कब्जा गरेरै जितेको भन्दै धनराजलाई पद्‍माले दिइन् बधाई – Himalayan Dainik

बुथ कब्जा गरेरै जितेको भन्दै धनराजलाई पद्‍माले दिइन् बधाई


बुथ कब्जा गरेरै जितेको भन्दै धनराजलाई पद्‍माले दिइन् बधाई

काठमाडौं – नेकपा एमालेकी नेतृ पद्मा अर्यालले स्याङ्जा–२ का केही स्थानमा बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी छन्।

स्याङ्जा–२ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङलाई बधाई दिँदै नेतृ अर्यालले जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी हुन्।

उनले केही बुथ कब्जा भएका स्थानमा पुनः मतदानको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय भएको बताएकी छन्।

‘साक्षीका रूपमा कैयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो। हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं। त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं। किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन्। हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन,’ अर्यालले भनेकी छन्।

आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नगर्न पनि उनले सुझाव दिएकी छन्। अर्यालले युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्या‌‍‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌उन आग्रह गरेकी छन्।

‘निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरूलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस्,’ उनले भनेकी छन्, ‘मैले तपाईंलाई सालिन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नुभएन, दर्जनौं प्रमाणहरूले त्यही बताइरहेका छन्।’

अर्यालले सबै कुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्।

‘हामीले अगाडि बढाएका कयौं योजनाहरू छन, तिनलाई पूर्णताः दिन मिलेर अगाडि बढौँ, नयाँ थप योजनाहरू आवश्यक छन् त्यसका लागि हरदम साथ दिन तयार छु। राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको बीचमा हुनेछु,’ उनले भनेकी छन्।

एमालेले चापाकोटाका केही स्थानमा बुथ कब्जा भएको र पुनः मतदानको माग गरेको थियो। तर, निर्वाचन आयोगले पुनः मतदान नहुने र मतगणना सुचारु गर्न निर्देशन दिएको थियो।

कांग्रेसका गुरुङ ३१ हजार ४६६ मतसहित विजयी हुँदा अर्यालले २५‚८३९ मत प्राप्त गरिन्।