दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत – Himalayan Dainik

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत


दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत

काठमडौँ – यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा दार्चुलामा उम्मेदवारी दिएकामध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत पनि पुर्‍याउन नसकेपछि प्रतिनिधिमा सात र प्रदेश सभामा पाँच जनाको जमानत जफत भएको हो ।

सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने क्रममा १० हजार रुपियाँ धरौटी राखेका थिए । त्यो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका नौमध्ये सात जनाले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो ।

निर्वाचन आयोगका अनुसार दार्चुलामा राप्रपा नेपालका देवबहादुर बमले सबैभन्दा कम १३ मत प्राप्त गरेका छन । प्रतिनिधि सभा सदस्यतर्फ सुदूरपश्चिम प्रदेशमै उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत पनि यही हो । दार्चुलाबाट राप्रपाका नरेन्द्रसिंह धामीले तीन सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामीले एक सय ९८, नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवालले ७८, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५, नेश्नलिष्ट पिपल्स पार्टीका धर्म सिंह दयालीले ४७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेश राम लुहारले ४६ मत प्राप्त गरेका छन ।

दार्चुलामा प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू र उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशसिंह ठगुन्नाबाहेक प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सात जना उम्मेदवारको धरौटी जफत भएको हो ।

यस्तै दार्चुला प्रदेश सभा क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले एक हजार चार सय १८, राप्रपाका चक्र बहादुर बमले तीन सय २७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गरे । उनीहरू तीनै जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) मा निर्वाचित कांग्रेसका विक्रमसिंह धामी र उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीबाहेक सबैको धरौटी रकम जफत भएको हो ।

प्रदेश सभा क्षेत्र नम्बर (ख) मा राप्रपाका अमर सिंह धामीले तीन सय १७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले एक सय ७३ मत प्राप्त गरे। उनीहरू दुवै जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर (ख) मा पनि निर्वाचित माओवादी केन्द्रका मानबहादुर धामी र उनका प्रतिस्पर्धी एमालेका रामदत्त जोशीबाहेकका उम्मेदवारको धरौटी रकम जफत भएको छ ।

दार्चुलामा प्रतक्षतर्फ प्रदेश सभामा नौ र प्रतिनिधि सभामा नौ गरी १८ जना उम्मेदवार भए पनि एमाले र गठबन्धनका छ जना उम्मेदवारबाहेक बाँकी साना दल र स्वतन्त्र प्रतिस्पर्धा गरेका १२ जना उम्मेदवारको धरौटी रकम जफत भएको हो ।