यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी – Himalayan Dainik

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी


यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

काठमाडौँ– यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीनरतीन विकेट लिनुभयो भने सन्देश भट्टराईले २ विकेट लिए। त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिए । जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश-१ को चार खेलबाट चार अंक भएको छ । पराजित मधेश तीन खेलमा अंकविहीन छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।