विश्वकप फुटबल :आजदेखि समूह चरणको अन्तिम खेल हुने – Himalayan Dainik

विश्वकप फुटबल :आजदेखि समूह चरणको अन्तिम खेल हुने


विश्वकप फुटबल :आजदेखि समूह चरणको अन्तिम खेल हुने

काठमाडौँ – कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।

समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।

आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ ।

यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।

पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् ।

आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् ।

समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा छ । दुवैले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र अपराजित छन् । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ । कतार अंकविहीन छ ।

नेदरल्याण्ड र इक्वेडर आफ्नो खेलमा बराबरी नतिजा ल्याए मात्र पनि अन्तिम १६ मा पुग्ननेछन् ।

सेनेगलका लागि भने अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनैपर्नेछ । उता यसै विश्वकपबाट विश्वकपमा डेब्यु गरेको कतार पनि अन्तिम खेललाई सुखद बनाउन चाहन्छ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

यस समूहबाट अहिलेसम्म कुनै टिम पनि बाहिरिएको छैन । त्यसैले नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

इंग्ल्याण्ड दुई खेलपछि एक जित र ए बराबरीबाट ४ अंकसहित पहिलो स्थानमा छ । एक जित र एक हारबाट ३ अंक रहको इरान दोस्रो स्थानमा छ । दुई बराबरी खेलेको अमेरिकाको २ अंकसहित तेस्रो र एक बराबरी र एक हारबाट वेल्स १ अंकसहित चौथो स्थानमा छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरे पनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै इरानले अमेरिकालाई पराजित गरे सिधै नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा भने इरानले अमेरिकासँग हार टारे पनि अन्तिम १६ मा पुग्नेछ ।

अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नैपर्ने आवश्यक छ ।