ट्रान्समिटरलगायत रेडियोका सामग्री चोरेको आरोपमा पूर्वस्टेसन म्यानेजर पक्राउ – Himalayan Dainik

ट्रान्समिटरलगायत रेडियोका सामग्री चोरेको आरोपमा पूर्वस्टेसन म्यानेजर पक्राउ


ट्रान्समिटरलगायत रेडियोका सामग्री चोरेको आरोपमा पूर्वस्टेसन म्यानेजर पक्राउ

काठमाडौँ – कालिकोटको नरहरिनाथ गाउँपालिकाद्वारा सञ्चालित रेडियो सुनथरालीको सामग्री चोरी गरेको आरोपमा प्रहरीले रेडियोका पूर्वस्टेसन म्यानेजरलाई पक्राउ गरेको छ। रेडियोका सामान चोरी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका– ३ का खगेन्द्र बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

रेडियो सुनथराली ९०.६ मेगाहर्जको ट्रान्समिटरलगायतका महत्वपूर्ण सामग्री यही मंसिर ८ गते राति चोरी भएको थियो। मदिरा सेवन गरी चोरी गरेको बुढाले स्वीकार गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेडियोबाट हटाएको रिसमा चोरी गरेको बुढाले बयान दिएका छन्।

बुढालाई ११ गते प्रहरीले नरहरिनाथ गाउँपालिकाबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो। अहिलेसम्म रेडियो र पालिकाले उजुरी नदिएका र प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको प्रहरीले जनाएको छ। ‘प्रहरीलाई २४ घन्टासम्म थुन्ने अधिकार छ। उजुरी नआए छाडिदिन्छौँ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले भने।

यता, गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले चोरी गर्नेलाई कानुनी कारबाहीका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए। ‘सूचना तथा सञ्चारगृहमा मदिरा सेवन गरी चोरी गर्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भने।