खुलामञ्चमा पार्किङ नबनाउन ‘मुक्त टुँडिखेल’ को निवेदन – Himalayan Dainik

खुलामञ्चमा पार्किङ नबनाउन ‘मुक्त टुँडिखेल’ को निवेदन


खुलामञ्चमा पार्किङ नबनाउन ‘मुक्त टुँडिखेल’ को निवेदन

काठमाडौं – काठमाडौं   महानगरपालिकाले खुला मञ्च पार्किङका लागि खुला गर्ने निर्णय गरेपछि ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले वडा नम्बर २८ मा निवेदन बुझाएका छन्। खुलामञ्चलाई पहिलेजसरी घाँसे मैदान बनाउन र त्यहाँ कुनै हालतमा पार्किङ नबनाउन उनीहरूले वडा अध्यक्षलाई निवेदन दिएका हुन्।

महानगरले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भनेको छ। यही कुरालाई उनीहरूले विरोध जनाएका हुन्।

खुला मञ्च टुँडिखेलको अभिन्न अंग हो। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ। हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ।

यही अतिक्रमण नजरअन्दाज गर्न नसकी खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलको स्वतन्त्रको लागि ‘मुक्त टुँडिखेल’ नामक अभियान कात्तिक २३ गते शनिवार २०७६ गते देखि सुरू भएको हो।

खुलामञ्चमा पार्किङ बनाउनुलाई टुँडिखेल अतिक्रमणको अर्को शिलशिला र प्राकृतिक रिचार्ज क्षेत्रको विनासका रूपमा अभियन्ताहरूले लिएका छन्। त्यहाँ पार्किङ बनाउनु साटो हालै काठमाडौं महानगरले खाली गराएका बेस्मेन्ट, धरहरा क्षेत्र नजिक बन्दै गरेको पार्किङ क्षेत्रलाई पार्किङ बनाउन उनीहरूले ध्यानाकर्षण गराएका छन्।