चन्द्रागिरिमा एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत – Himalayan Dainik

चन्द्रागिरिमा एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत


चन्द्रागिरिमा  एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

काठमाडौँ – चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ ।

चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरि–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ ।

एसियाली विकास बैङ्कको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब  एक अर्बभन्दा बढी लागतमा सो बृहत् खानेपानी तथा सरसफाइ आयोजना स्वीकृत गरेको हो । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “खानेपानी मन्त्रालयबाट सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना स्वीकृत भएको जानकारी नगरपालिकामा आइसकेको छ । नगरपालिकाका विभिन्न वडालाई सहज हुने सो बृहत् खानेपानी स्वीकृत भएसँगै अब यसलाई द्रुत कार्यान्वयनमा लैजान आवश्यक नीतिगत विषयहरू अगाडि बढाइसकेका छौँ ।”

यसका लागि नगरपालिकाले पहिलो चरणमा सम्बन्धित पक्षसँगको सर्वपक्षीय बैठक सम्पन्न गरिसकेको छ । उहाँका अनुसार अब एक महिनाभित्र नै उपभोक्ता समिति गठन भई ‘सर्भे’ तथा ‘डिजाइन’को काम अगाडि बढ्ने छ । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये र देशकै २० नगरपालिकामध्ये पहिलोपटक चन्द्रागिरिमा सो बृहत् खानेपानी आयोजना स्वीकृत भएको जनाइएको छ ।

आयोजनाका सामाजिक सुरक्षण विज्ञ समिर ढकालका अनुसार यो आयोजना दक्षिण एसियाकै नमूना योजनाभित्र पर्ने छ । उहाँले भन्नुभयो, “उपभोक्ता समिति गठन भइसकेपछि सर्भे तथा डिजाइनको काम अगाडि बढ्छ । एक वर्षभित्रमा सर्भे र डिजाइनको काम सकिन्छ र यसपछि काम अगाडि बढ्छ । आयोजना अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सञ्चालनमा आउँछ ।”

नगरपालिकाले सो आयोजनालाई अगाडि बढाउन उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गर्ने र दुई चरणमा सरोकार पक्षसँगको बैठकसमेत सम्पन्न गरेको छ । आयोजनाबाट जलवायु परिवर्तनका नकारात्मक असर कम गर्ने कार्य पनि हुनेछ । सुरक्षण विज्ञ ढकालले भन्नुभयो, “आयोजनाले निम्न वर्गका नगरवासीलाई धारा जडान र शौचालय निर्माणमा पनि अनुदान प्रदान गर्नेछ ।” उहाँका अनुसार सन् २०२४ भित्रमा सो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘सबैका लागि खानेपानी र सरसफाइ’ भन्ने अवधारणाअनुसार आयोजनाले प्रत्येक घरमा निजी धारा जडान गरी प्रतिदिन प्रतिव्यक्ति एक सय ३५ लिटर राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार वितरण गर्ने जनाइएको छ ।

अर्कोतर्फ सबै नगरवासीलाई खानेपानी र सरसफाइको आवश्यक पहुँच पु¥याउन नगरपालिकाले एकीकृत खानेपानी नीति कार्यान्वयनमा ल्याउने जनाएको छ । नगरप्रमुख गिरीले भन्नुभयो, “चन्द्रागिरिका खानेपानीको प्राकृतिक मुहान तथा भूमिगत स्रोत संरक्षणमा ध्यान दिएका छौँ ।” उहाँले गत स्थानीय निर्वाचनमा ‘एक घर एक धारा’ आफ्ना अवधारणाअनुसार सबै नगरवासीलाई खानेपानीको पहुँच पु¥याउने प्रतिबद्धता जनाउनुभएको थियो ।