अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका यासिर अस्पताल भर्ना – Himalayan Dainik

अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका यासिर अस्पताल भर्ना


अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका यासिर अस्पताल भर्ना

एजेन्सी – विश्वकप फुटबलमा समूह चरणअन्तर्गत मंगलबार अर्जेन्टिना विरुद्धको खेलमा घाइते भएका साउदी अरबका खेलाडी यासिर अल-शेरानी अस्पताल भर्ना भएका छन्।

गोलपोस्ट नजिकै आफ्नै टिमका गोलकिपर मोहमद अल-अवाईसँग यासिर ठोकिन पुगेका थिए। मोहम्मदको घुँडामा ठोकिँदा यासिरको च्यापु र अनुहारको हड्डीमा चोट लागेको र आन्तरिक रक्तस्राव भएको अरबी सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनापछि अस्पताल लगिएका यासिरको अवस्था सिकिस्त भएपछि साउदी अरबका राजकुमारले थप उपचारका लागि निजी विमानबाट जर्मनी लैजान आदेश दिएका थिए।

पहिलो चरणको उपचारपछि यासिरको अवस्थामा केही सुधार आएको छ। अरबी टोलीका मुख्य मिडफिल्डरमध्ये एक यासिरले विश्वकपका बाँकी खेल भने गुमाउने सम्भावना देखिएको छ।

अर्जेन्टिनाविरुद्धको उक्त खेल साउदी अरबले २-१ ले जितेको थियो। अर्जेन्टिनामाथि साउदीको यो पहिलो जित हो। अर्जेन्टिनालाई हराएकै खुशीमा साउदी सरकारले एकदिन सार्वजनिक विदा दिएको छ।

ग्रुप सी मा रहेको साउदीले आफ्नो आगामी खेल शनिबार पोल्याण्डसँग खेल्दैछ।