बर्दियाको दुई वटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता – Himalayan Dainik

बर्दियाको दुई वटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता


बर्दियाको दुई वटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

काठमाडौँ –  बर्दियाको दुई वटै निर्वाचन क्षेत्रमा नागरीक उन्मुक्ती पार्टीले अग्रता कायम राखेको छ । बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालविर चौधरीले अग्रता लिएका छन् । लालबिर भने कैलालीको टिकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीको सहोदर बुवा हुन् ।

पछिल्लो मत परिणाम अनुसार बर्दिया १ मा नागरीक उन्मुक्ती पार्टीका उम्मेदवार थारुले छ हजार दुई सय मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार संजय गौतमले पाँच हजार तिन सय ४६ मत ल्याएर पछ्याई रहेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञावलीले चार हजार ४० मत ल्याएका छन् । हाल बारबर्दिया नगरपालिकाको मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बर्दिया २ मा पनि नागरीक उन्मुक्ती पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रपंतीमा देखिएका छन् । उनले १६ हजार चार सय ५८ मत ल्याएका छन भने उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादीका उम्मेदवार सुरेश पन्थले १० हजार आठ सय ९३ मत ल्याएर पछ्याईरहेका छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार पंकज सिंह राठौरले ६ हजार पाँच सय ५५ मत ल्याएका छन् ।

नागरिक उन्मुक्ती पार्टीले शुरुवातमा टिकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रेशम चौधरीको बुवा लालविरलाई समर्थन गरेर चुनावी अभियान सञ्चालन गरेको थियो । लालबिरले हेण्डपम्प (चापाकल) चुनाव चिन्हमा निर्वाचन लडेका छन् ।