काठमाडौंका सबै क्षेत्रको रातिदेखिनै मतगणना हुने, कहाँ कहाँ हुँदैछ गणना – Himalayan Dainik

काठमाडौंका सबै क्षेत्रको रातिदेखिनै मतगणना हुने, कहाँ कहाँ हुँदैछ गणना


काठमाडौंका सबै क्षेत्रको रातिदेखिनै मतगणना हुने, कहाँ कहाँ हुँदैछ गणना

काठमाडौं – काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि सुरू गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले १० वटै क्षेत्रको मतगणना रातिबाट सुरू गरिने जानकारी दिनुभयो ।

‘मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरू हुन्छ,’ उहाँले भन्नुभयो, ‘भवितव्य के हुन्छ थाहा भएन। तर, रातिबाट गणनाका लागि सबै तयारी पूरा गरिसकेका छौं।’

भट्टराईले १० वटै निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने पनि बताउनुभयो। ‘हामीले पहिलो पटक भूगोलमै कार्यालय खोलेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यहीँबाट गणना हुन्छ। परिणाम सार्वजनिक भएपछिमात्रै ती कार्यालयहरु हट्छन्।’

भट्टराईका अनुसार काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको भट्टराईले जानकारी दिनुभयो।