यो ठाउँमा महिला कर्मचारीहरुले मात्र सम्पन्न गराउनेछन् निर्वाचन – Himalayan Dainik

यो ठाउँमा महिला कर्मचारीहरुले मात्र सम्पन्न गराउनेछन् निर्वाचन


यो ठाउँमा महिला कर्मचारीहरुले मात्र सम्पन्न गराउनेछन् निर्वाचन

पोखरा – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन् । नमुना मतदान केन्द्र नाम दिइएको ती मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो । जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी छन् । जिल्लामा प्रतिनिधिसभातर्फ ३ ओटा निर्वाचन क्षेत्र हुन् । हरेक निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एउटा मतदान केन्द्र नमुना बनाउन महिला कर्मचारीलाई मात्र खटाइएको हो ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत पार्दी मावि मतदानस्थलको मतदान केन्द्र (ख) लाई कानुन मन्त्रालयकी उपसचिव सरिता रायमाझीले सम्हालेकी छन् । सो मतदान केन्द्रमा रायमाझीसहित सबै ८ जना कर्मचारी महिलामात्र छन् । पार्दी मावि मतदानस्थलका कुल ६ वटा मतदान केन्द्र कायम गरिएको छ । यसअघि पनि निर्वाचन अधिकृत भएर काम गरिसकेको रायमाझीको अनुभव भएकोले अहिलेको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आफूले भरमग्दूर प्रयास गर्ने उनी बताउँछिन् ।

कास्कीको क्षेत्र १ अन्तर्गत जनप्रकाश मावि, भण्डारढिक मतदानस्थलमा गीता न्यौपाने र कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्कस्थित मतदानस्थलको मतदान केन्द्रमा गीता घिमिरे दोरंगा सहितको महिला कर्मचारी खटिएका छन् । उनीहरुले निर्वाचन सामग्री बुझेर मतदान स्थलको आवश्यक तयारी सुरु गरेको बताएका छन् । ४ मंसिरको चुनावका लागि सर्वदलीय बैठक बसेर सहमतिका काम अघि बढाउने उनीहरु बताउँछन् ।