नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीएसमा आबद्ध – Himalayan Dainik

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीएसमा आबद्ध


नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीएसमा आबद्ध

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) को लागि दुइ संस्थाहरु बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने छ ।

जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सकिने छ । नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै नेपाल लाईफले एनपीएसमा उपलब्ध अन्य उपकरणहरुको प्रयोग गरी थप नयाँ सेवाहरु पनि ल्याउने कार्य अगाडि बढाउन सकिनेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्याउने र नेपाललाई आर्थिक समृद्धी तर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ ।

कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गर्दै डिजिटल माध्यमहरुको प्रयोग बाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २ लाख १२ हजार ३६२ अभिकर्ताहरु रहेका छन् ।