पशुपतिमा ठड्याइयो गुह्येश्वरी जात्राको लिङ्गो – Himalayan Dainik

पशुपतिमा ठड्याइयो गुह्येश्वरी जात्राको लिङ्गो


पशुपतिमा ठड्याइयो गुह्येश्वरी जात्राको लिङ्गो

काठमाण्डौ – पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको छ ।

हरेक वर्ष मंसिर कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन हिजो लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिनुभयो ।

गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालयले जनाएको छ ।

तलेजु भवानी लिन क्लबको नेतृत्वमा स्थानीय बासिन्दाको समूह त्यसतर्फ गएको पनि उहाँले बताउनुभयो । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ । आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ ।

जात्रा सकी आज राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समयबजिलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजाआराधना गर्ने परम्परा छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रुपमा पूजा गरिने भएकाले दुवै मूर्ति उस्तै छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रुपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताउनुभयो ।