तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा – Himalayan Dainik

तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा


तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

काठमाडौँ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नाममा  निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्छु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रहसमेत गरेका छन्।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ।

पाँच वर्षअघि बीबीसी साझा सवालको कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गरेर उनी चर्चामा आएका थिए ।