नेपाल एयरलायन्सले भैरहवाबाट दिल्ली उडान गर्ने – Himalayan Dainik

नेपाल एयरलायन्सले भैरहवाबाट दिल्ली उडान गर्ने


नेपाल एयरलायन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

काठमाडौँ — नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्र्तगत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ ।

उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।

निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।

निगमलाई प्राधिकरणले भैरहवाबाट १ सय ५७ यात्रु क्षमताको एयरबस ए३२० न्यरोबडी र २ सय ७४ सिट क्षमताको एयरबस ए३३० वाइडबडीबाट उडान गर्ने अनुमती दिएको छ । उसले यात्रुको माग अनुसार यो रुटमा उडान गर्ने छ । हाल भैरहवाका लागि कुवेतको जजिरा एयरवेजको १ सय ६२ यात्रु क्षमता भएको न्यरोबडी उडाउँदै आइरहेको छ ।

निगम अघि यति एयरलायन्ससँगको चिनियाँ साझेदारीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सले भैरहवाबाट कार्तिक १७ गतेदेखि मलेसिया चार्टर उडान गरीरहेको छ । मलेसियासँग नेपालले भैरहवाका लागि हवाई सम्झौता नगरेकाले उक्त रुटमा हाल चार्टरका रुपमा हिमालयले उडान गर्नुपरेको हो । तर, भारतसँगको हवाई सम्झौतामा विमानस्थलको नाम नतोकेकाले निगमले दिल्ली–भैरहवा नियमित उडान गर्ने छ ।

निगमसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वायुसेवा हुने भएका छन् ।