आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना – Himalayan Dainik

आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना


आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – तीन प्रदेशमा आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा छ।

आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।

प्रदेश –१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै प्रदेश–१, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले जारी गरेको बुलेटिनमा आज राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ। शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश–१ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाको पूर्वानुमान छ।