२०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने ट्रम्पको घोषणा – Himalayan Dainik

२०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने ट्रम्पको घोषणा


२०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने ट्रम्पको घोषणा

एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्।अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा ट्रम्पले गरेको सिएनएनले जनाएको छ।

राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक कागजात उनले संघीय निर्वाचन समितिलाई मंगलबार नै बुझाएका छन्।

हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकनले उत्साही परिणाम ल्याउन नसकेको र आफूनिकट उम्मेदवार पराजित भएको अवस्थामा ट्रम्पले उम्मेदवारीको घोषणा गरेका हुन्।

रिपब्लिकनले सिनेटमा बहुमत ल्याउन सकेन भने प्रतिनिधिसभामा सामान्य बहुमतको स्थितिमा छ।

मध्यकालीन निर्वाचनमा उत्साही परिणाम नआउँदा रिपब्लिकन रक्षात्मक अवस्थामा पुगेको छ।

उम्मेदवारी घोषणा गर्दै ट्रम्पले २०२२ को मध्यकालीन निर्वाचनको परिणामप्रति पनि असन्तुष्टि जनाएका छन्।

‘मतदाताहरूले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन्। उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन्,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले उम्मेदवारी घोषणा गरिरहँदा उनीमाथि संसदमा भवनमा तोडफोड गराएको अभियोगमा अनुसन्धान भइरहेको छ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई अस्वीकार गर्दै ट्रम्प समर्थित कार्यकर्ताले संसद भवनमा हमला गरेका थिए।