बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी – Himalayan Dainik

बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी


बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी

काठमाडौँ – निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए ।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग गरेको उजुरी आएको बताए ।

‘‘हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यू आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्सनमा जानुपर्छ’ प्रमुख आयुक्त थपलियाले भने ।

यस्ता विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि प्रश्न उठ्ने उनले बताए ।
प्रमुख आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालबाट भने धेरै उल्लंघन भएको बताए ।

मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै उनले अरुको चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए ।

‘ठूला नेता उभिसकेपछि अर्को नेतालाई सत्तो सराप नगरीकन भाषण नै नसिध्याउने प्रवृत्ति छ, यो आचारसंहिताभित्र पर्छ कि पर्दैन । पर्छ भने कसले सोध्ने, कसैले त सोध्नुपर्ला । हामीले हाम्रा नेताहरुले पचाउनुहुन्छ, भन्ने गरेको छौं, तर त्यो नसुहाउला’ उनले भने, ‘यस्ता किसिमका इस्यूहरु युट्युब, भाइबर, फेसबुकबाट आइरहका छन्, अहिले बढी टिकटकबाट छन् ।’