निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी – Himalayan Dainik

निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी


निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी

काठमाडौँ –  निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको छ । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका सूचना अधिकारी डीएसपी केशव राज थापाले जानकारी दिए ।

भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ कि।मि। लामो छ । ‘अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रीत हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ, डीएसपी थापाले भने ।

२६ नं. हेडक्वाटर मातहतमा ५ वटा बीओपी र २ वटा सुरक्षा बेस क्याम्प छन् । निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो ।

बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैधरुपमा ल्याउँदै गरेका सामानसमेत धमाधम बरामद हुन थालेका छन् । बरामद भएका समानमा चिनी, कपडा, मोबाइल, इलोक्ट्रोनिकलगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।