मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्नूस् : प्रमुख आयुक्त थपलिया – Himalayan Dainik

मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्नूस् : प्रमुख आयुक्त थपलिया


मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्नूस् : प्रमुख आयुक्त थपलिया

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।

गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले कार्तिक २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरूपमा रिपोर्टिङ हुनुपर्ने बताए।

उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मंसिर १ गते साँझ सम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट पारे।

‘बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइयो,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी छ, निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको हो।’