आर्थिक क्रान्तिको सुरुवात गोरखाबाटै गर्न चाहन्छु : प्रचण्ड – Himalayan Dainik

आर्थिक क्रान्तिको सुरुवात गोरखाबाटै गर्न चाहन्छु : प्रचण्ड


आर्थिक क्रान्तिको सुरुवात गोरखाबाटै गर्न चाहन्छु : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल प्रचण्डले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा शुक्रबार बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् ।

मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछुु, उनले भने, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि अब आर्थिक क्रान्तिको सुरुवात गर्नु जरुरी छ । अध्यक्ष प्रचण्डले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट नै गर्ने दाबीसमेत गरे । म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुवात पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु, उनले भने ।

गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए । अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे ।