सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी – Himalayan Dainik

सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी


सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् ।

महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको सडक सुरक्षा गुरुयोजना अनुसार महानगरले यातायात क्षेत्र व्यवस्थापनको तयारी गरेको हो ।
‘अहिले नै ठोस रुपमा सडक सुरक्षामा के गर्ने भन्ने निर्णय भइसकेको छैन । महानगरभरीको यातायात व्यवस्थापन गर्नको लागि गर्नुपर्ने कामको विषयमा निजी क्षेत्रलाई अध्ययन गर्न जिम्मा दिने कुरा चैं छलफल भएकोे छ,’ थापाले भने ।

महानगरले आफैंले अध्ययन गर्दा प्राविधिक जनशक्ती र समय दुवैको अभाव हुने भएकोले सडक सुरक्षा सम्बन्धी अध्ययन गर्न निजी क्षेत्रलाई ‘हायर’ गर्ने विषयमा एक चरण छलफल भएता पनि ठोस निर्णयमा नपुगेको उनले बताए ।

थापाका अनुसार महानगरले अहिले सडक सुरक्षाको लागि नगर प्रहरीमार्फत ट्राफिक प्रहरी र यातायात व्यवस्थापनमा सहयोग गरिहेता पनि अन्य विषयमा काम गर्न सकेको छैन ।