पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप – Himalayan Dainik

पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप


पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप

काठमाडौँ – मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ। विगतमा झैँ सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्ने छ।

गोल्ड कपमा हरेक वर्ष मुख्य प्रायोजन गर्दै आएको हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले नै यस वर्ष पनि मुख्य प्रायोजन गर्ने भएको छ। अफिसियल बैङ्क लुम्बिनी विकास बैङ्क, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्,प्रदेश खेलकुद परिषद् गण्डकी र अखिल नेपाल फुटबल सङ्घ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल सङ्घ, पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता गर्ने लक्ष्य सहारा क्लबले लिएको छ।

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब हो। गत वर्ष २० औँ आहा–रारा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो पल्ट उपाधि चुमेको हो।

आहा–रारा गोल्ड कपमा अहिलेसम्म सबैभन्दा बढी ६÷६ पटक मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लबले उपाधि चुमेका छन्। मनाङ मर्स्याङ्दीले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि हात पारेको छ। २०५८, २०६३, २०६७, २०७०, २०७१ र २०७८ सालमा भएका प्रतियोगितामा भने मनाङ मर्स्याङ्दीले उपबिजेतामा चित्त बुझाएको थियो। यस्तै विभागीय पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा भएका खेलमा जित निकालेको थियो।

पुलिसले २०६१ र २०७६ मा भने पुलिसले उपबिजेतामा चित्त बुझायो। गोल्ड कपमा थ्री स्टार क्लब पाँच पटकको विजेता र एक पटकको उपविजेता, सहारा क्लब एक पटकको विजेता र दुई पटकको उपविजेता, विभागीय एपीएफ क्लब एक पटकको विजेता र एक पटकको उपविजेता, सङ्कटा क्लब एक पटकको विजेता, विभागीय त्रिभुवन आर्मी क्लब चार पटकको उपविजेता तथा कार्लटोन फुटबल क्लब, फ्रेन्ड्स क्लब, जाउलाखेल यूथ क्लब र अफ्रिकन रुट्स एसोसिएसन एक÷एक पटकका उपविजेता टोली हुन्।