सूर्योदय हेर्न तनहुँको मानुङकोटमा पर्यटकको भिड – Himalayan Dainik

सूर्योदय हेर्न तनहुँको मानुङकोटमा पर्यटकको भिड


सूर्योदय हेर्न तनहुँको मानुङकोटमा पर्यटकको भिड

काठमाडौँ –  सूर्योदय र कुहिरो हेर्न हिजो शनिवार तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजारभन्दा बढी पर्यटक पुगेका थिए । दमौली बजारलाई कुहिरोले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक हिजो मानुङकोट पुगेका हुन् ।

मानुङकोटमा शुक्रवार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रवार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेन्टमा रात बिताएका थिए भने शनिवार बिहानैदेखि पर्यटकको भिड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । यस वर्षको सबैभन्दा बढी भिड हिजो भएको थियो । पाँच हजारभन्दा बढीको उपस्थिति थियो उनले भन्नुभयो,आन्तरिक पर्यटकको आगमनले गाडी व्यवस्थापनमा समस्या भएको थियो ।

व्यास नगरपालिका–२ का कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताए । सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छु, उहाँले भन्नुभयो,ुहामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।

केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए ।

चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिरोले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो बिस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला ।

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।

मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै  पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा २०५२ सालमा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै गएका छन । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए ।