कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने – Himalayan Dainik

कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने


कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने

काठमाडौँ — कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ : ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।