प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छु : प्रकाशमान सिंह – Himalayan Dainik

प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छु : प्रकाशमान सिंह


प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छु : प्रकाशमान सिंह

काठमाण्डौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदो चुनावपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गर्नुभएको छ । आउँदो चुनाव जित्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको उहाँले बताउनुभएको हो ।

आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गर्नुभयो । उहाँले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको चुनावपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सुरुवाती चरणदेखि, पार्टी प्रतिबन्धित हुँदादेखि अधिकार प्राप्त गर्नका लागि जनआन्दोलन, सत्याग्रह सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालिसकेको, नेविसङ्घदेखि लिएर नेपाली कांग्रेसको काठमाण्डौ जिल्लाको पटक–पटक नेतृत्व सम्हालेर काम गरिसकेको छु । मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास छ । मौका पायो भने म गरेर देखाउँछु । मसँग अनुभव छ, त्यसैले मनदेखि नै देखेको छु, भोगेको छु, मौका पाए गर्न नसक्ने कुरा होइन । पहिला सांसद बन्नुपर्‍यो, त्यसपछि नेपाली कांग्रेसको संसदीय दलमा निर्वाचिन भएकाहरू बीचमा चुनाव हुनुपर्‍यो । त्यसमा ब्रेक गर्नसक्ने क्राइटेरिया सबै पुगिसकेको छ । हेरौँ अवस्था के हुन्छ रु’

नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताउनुभयो । उहाँले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको जिकिर गर्नुभयो ।

कुराकानीकै क्रममा नेता सिंहले काठमाण्डौ क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवार उभिए पनि स्थानीयको कामका लागि आफू नै योग्य रहेको दाबी गर्नुभयो । उहाँले स्वतन्त्र उम्मेदवार अहिले परीक्षणको क्रममा रहेकाले सबैले एक–अर्काको गलत प्रचारप्रसार नगरि आफ्ना एजेन्डालाई जनताकोबीचमा लैजानुपर्ने आवश्यकता भएको बताउनुभयो ।

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति इङ्गित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरू पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउनुभयो ।