पार्टीनिकट पत्रकारलाई प्रचण्डको निर्देशन, दुई धारबीच ब्याटल हुँदैछ, चुप लागेर नबस्‍नुस् – Himalayan Dainik

पार्टीनिकट पत्रकारलाई प्रचण्डको निर्देशन, दुई धारबीच ब्याटल हुँदैछ, चुप लागेर नबस्‍नुस्


पार्टीनिकट पत्रकारलाई प्रचण्डको निर्देशन, दुई धारबीच ब्याटल हुँदैछ, चुप लागेर नबस्‍नुस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचारप्रसारमा लाग्न आफूनिकट पत्रकारहरूलाई निर्देशन दिएका छन्।

बुधबार बिहान प्रेस सेन्टर ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनमतलाई परिवर्तन, क्रान्ति र समाजवादतर्फ आकर्षित गर्ने मुख्य हतियार मिडिया भएको उल्लेख गर्दै निर्वाचनमा फोकस हुन निर्देशन दिएका हुन्।

‘मंसिर ४ गते दुई प्रवृति र धारबीच ब्याटल हुँदैछ। परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अगाडि बढ्न चाहने समूह आमनेसामने छन्। त्यसकारण हामीले सामान्य निर्वाचन भनेर चुप लाग्ने स्थिति छैन्।‘ उनले भने, ‘अधिकतम साथीहरूले आफ्नो प्रयास जनमत निर्माणमा नै गर्नुपर्छ। प्रतिक्रियावादी तत्वले घेराबन्दी पार्न खोजेको माओवादी आन्दोलनमा, माअ‍ोवादीको एजेण्डा र माओवादीको नेतृत्वको बारेमा प्रहार भइरहेका छन्।

अध्यक्ष प्रचण्डले माअ‍ोवादी बलियो हुँदा परिवर्तनको रक्षा हुने उल्लेख गर्दै पार्टी कमजोर बन्दा सबैथोक उल्टिने खतरा रहेको बताए।

‘यो निर्वाचन भोट हाल्ने सामान्य निर्वाचन होइन्। हामीले बेपत्ता योद्धा, घाइतेहरू र यो क्रान्तिमा होमिएका सहयोद्धा र यो क्रान्तिमा सहभागी सम्पूर्ण जनताका निम्ति जीवन मरणको संघर्षको रूपमा छ। उनले भने, ‘गत साल झण्डै झण्डै प्रतिक्रान्ति हुने होकी भन्ने स्थिति हामीले भोग्यौँ। पटकपटक संविधानसभा विघटन गर्नुको उदेश्य संविधान खारेज गर्नु थियो।’