काउन्सिलले बढायो सक्रियता – Himalayan Dainik

काउन्सिलले बढायो सक्रियता


काउन्सिलले बढायो सक्रियता

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ०७९ लक्षित गरी प्रेस काउन्सिलले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चारमाध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो ।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाई काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

म‍ंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको थियो । यसअघिका आमनिर्वाचनमा समेत तथ्यांक प्रशोधनसहित अनुमगनको अनुभव सँगालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन–अनुगमन विधिबारे संक्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चारमाध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत भइरहेको जानकारी दिए । यसअघि काउन्सिलले ०६४ को संविधानसभा निर्वाचन, ०६५ को उपनिर्वाचन, ०७४ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र ०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।