न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान – Himalayan Dainik

न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान


न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान

काठमाडौँ – सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।

सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। शिलशिलाबद्ध रूपमा उहाँ ९सन्दीप० लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘ उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।

‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’

यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पुर्‍याउन पनि वकिलहरूले माग गरेका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। असोज २० गतेदेखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।

गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे पनि दसैं बिदाका कारण अदालत बन्द थियो।

प्रहरीले सो दिनदेखि लागु हुनेगरी १० दिनको म्याद माग गरेको पनि घिमिरेले बताए।

‘सन्दीप एक व्यक्तिमात्रै नभएर संस्था समेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्र्याकमा लग्नुपर्छ भनेर माग गरेका थियौं। एकतर्फको अनुसन्धान सकिसकेको छ। अब सन्दीपको बयान लिन धेरै समय लाग्दैन,’ घिमिरेले भने, ‘प्रहरीले पक्राउ परेको दिनदेखि १० दिन हिरासतमा राख्न अनुमति माग्नुभएको थियो। त्यसमा अब्जेक्सन गरेका थियौं। पक्राउ परेको दिनेदेखि भनेको हुँदा हामीले केही भनेनौं। सात दिनको म्याद दिनुभयो।’

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। लामिछानेले इजलासमा त्यसको प्रतिकार समेत गरेका छन्।

आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताए।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’

लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन्।