शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्यकर्ममा बाधा नहुने – Himalayan Dainik

शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्यकर्ममा बाधा नहुने


शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्यकर्ममा बाधा नहुने

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ ।

गएको सोमवारदेखि शारदीय नवरात्र सुरु भइ नित्य कर्मका रूपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आज शुक्रवारदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरूपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्यकर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउँछन ।

‘शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नु नहुने शास्त्रीय वचन रहेको छ तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ’उनी भन्छन ,, ।

आज अस्त हुने शुक्र मङ्सिर पहिलो हप्ता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।