साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै – Himalayan Dainik

साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै


साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै

काठमाडौं – साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ ।

दशैंसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी रहेको साझाले बताएको थियो । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।

अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो ।