राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै – Himalayan Dainik

राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै


राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै

काठमाण्डौ –  बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।

नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रालयले जनाएको छ । काठमाण्डौ–कराची एकतर्फी उडान समय पौने तीन घन्टा हाराहारीको रहेको नेपाल एअरलाइन्सका प्रवक्ता लम्सालले बताए ।

अघिल्लो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानका लागि दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर्ड गरेको हो ।

बितेको दुई महिनादेखिको वर्षाका कारण आएको बाढी पहिरोले पाकिस्तानमा १ हजार ४ सयभन्दा धेरैको ज्यान गइसकेको छ । झण्डै एक तिहाइ भुभाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।