भारतले धान चामल निर्यातमा भन्सार बढायो, कनिका निर्यातमा रोक लगायो – Himalayan Dainik

भारतले धान चामल निर्यातमा भन्सार बढायो, कनिका निर्यातमा रोक लगायो


भारतले धान चामल निर्यातमा भन्सार बढायो, कनिका निर्यातमा रोक लगायो

भारतले आज शुक्रवारदेखि कनिका निर्यातमा रोक लगाउनुको साथै धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि र कनिका निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

भारतका केही राज्यमा कम वर्षा हुँदा गएको वर्षको तुलनामा धान रोपाइँ झन्डै ६ प्रतिशतले घटेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतले गएको आर्थिक वर्ष दुई करोड १२ लाख टन चामल निकासी गरेको थियो । भारतले यसअघि नै गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच भारतले धान चामल निर्यातमा गरेको भन्सार वृद्धि र कनिका निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजार पनि प्रभावित हुने भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालले गएको वर्ष ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको भाउ बढ्नेछ भने कनिका निर्यातमा लगाइएको रोकले जाँड–रक्सी, दानालगायतका उत्पादनमा असर पर्नेछ । मुख्य चाडबाडकै बेला भारतले गरेको करवृद्धिका कारण नेपाली बजार प्रभावित हुने देखिन्छ ।