वाग्मती प्रदेश :चुनाव नजिकिँदै गर्दा एक सय जना कर्मचारीको सरुवा – Himalayan Dainik

वाग्मती प्रदेश :चुनाव नजिकिँदै गर्दा एक सय जना कर्मचारीको सरुवा


वाग्मती प्रदेश :चुनाव नजिकिँदै गर्दा एक सय जना कर्मचारीको सरुवा

काठमाडौँ – वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चुनाव नजिकिँदै गर्दा एक सय दुई जना कर्मचारीको सरुवा गरेको छ ।

निर्वाचन आयोगले कर्मचारीको सरुवा, बढुवा गर्न रोक लगाएको भोलिपल्ट र पर्सिपल्ट मन्त्रिपरिषद्को कार्यालयले ६३ जना कर्मचारीको अन्तर मन्त्रालयमा सरुवा गरेको हो । यसैगरी अरु ३९ जना कर्मचारीलाई सरुवा गर्नका लागि तीन वटा मन्त्रालयलाई सहमति दिइएको कार्यालयका प्रवक्ता रमेश कुमार उपाध्याय लुइँटेलले बताए ।

निर्वाचन आयोगले कर्मचारीको सरुवा, बढुवा गर्न नपाउने निर्देशन गरेकै दिनको मिति राखेर मुख्यमन्त्री कार्यालयले यही भदौ २२ र २३ गते कर्मचारीको सरुवा गरेको हो । सरुवा गरेका प्रायजसो कर्मचारी प्रदेश सरकार मातहतको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात कार्यालयहरुमा पठाइएको छ । मुख्यमन्त्री कार्यालयले पनि चुनाव नजिकिँदै गर्दा यातायात कार्यालयमा कर्मचारी सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रदेशमा काठमाण्डौ उपत्यकाभन्दा बाहेकका जिल्लामा कर्मचारी अभाव निकै भइरहेको समयमा फेरि जिल्लास्तरका कार्यालयहरुबाट उपत्यकाका जिल्लामा धेरै कर्मचारी सरुवा गरेर पठाइएको छ । मुख्यमन्त्री कार्यालयबाट प्रशासन तर्फका सरुवा गरेका प्रायजसो कर्मचारी श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पठाइएको प्रवक्ता लुइँटेलले बताए ।

सरुवा गरिएका कर्मचारी मुख्यमन्त्री कार्यालयबाट ६३ जना, मुख्यमन्त्री कार्यालयबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गर्नका लागि ११ जना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गर्नका लागि २४ जनाको सहमति र भौतिक मन्त्रालयमा सरुवा गर्नका लागि ४ जनाको सहमति प्रदान गरिएको उनले बताए ।