डेंगुका बिरामी बढेसँगै बजारमा सिटामोलको माग बढ्न थाल्यो – Himalayan Dainik

डेंगुका बिरामी बढेसँगै बजारमा सिटामोलको माग बढ्न थाल्यो


डेंगुका बिरामी बढेसँगै बजारमा सिटामोलको माग बढ्न थाल्यो

काठमाडौँँ – उपत्यकामा ज्वरो तथा डेंगुका बिरामी बढेसँगै बजारमा सिटामोलको माग बढ्न थालेको छ। भाइरल ज्वरोका साथसाथै डेंगुका बिरामी धेरै देखिन थालेपछि आजभोलि धेरैले सिटामोल किन्न आउने गरेको समेत औषधि व्यवसायीहरूले बताएका छन्।

यता पछिल्लो केही समयदेखि बजारमा सिटामोलको माग अलि बढेको बताउँछन् नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल। उनका अनुसार सिटामोलका साथसाथै सलाइन पानी र जीवनजलको समेत माघ बढेको बताए। ‘अक्सर यो मौसममा सिटामोलको माग अलि बढी नै हुन्छ तर अहिले डेंगुका बिरामी बढेर सिटामोलका साथै सलाइन पानीको समेत माग बढेको छ’‚ उनले भने।

माघ बढिरहेको भए पनि हाल बजारमा सिटामोलको अभाव भने नभइसकेको समेत संघका उपाध्यक्ष बरालले बताए। ‘अहिले माघ बढिरहेको वेला छ तर बजारमा पुनः सिटामोल अभाव भएको भन्ने आवाज सुनिन थालेको छ तर त्यो हैन। अहिले माग बढे पनि बजारमा सिटामोलको अभाव भने भइसकेको छैन, अभाव हुने डरले पनि आवश्यकताभन्दा बढी किनेर नराख्न हामीले सल्लाह दिन्छौँ’‚ बरालले भने।

यता डेंगु ज्वरो बढेको समयमा अस्पतालमा आउने अधिकांश बिरामीले घरमा सिटामोल किनेर खाने गरेको बताउने गरेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसे। उनले भने‚ ‘भाइरल ज्वरो र डेंगुका बिरामी बढेको समयमा अस्पतालमा ज्यान दुख्यो‚ टाउको दुख्यो भन्दै परीक्षण गर्न आउने धेरैले सिटामोल किनेर खाएको बताउने गर्नु भएको छ।‘

डा. चालिसेका अनुसार ज्वरो आएका वेला ज्वरो कम गर्न खाइने सिटामोल शरीर दुखेको टाउको दुखेका वेला खाइने भए पनि अनावश्यक रूपमा खान नहुने बताउँछन्। ‘ ज्वरो आएको, टाउको दुखेको तथा शरीर दुखेको समयमा खाइने सिटामोल ६ देखि ७ घन्टाको फरकमा एक ट्याब्लेट खाने गर्दा खासै असर गर्दैन तर ज्वरो ठिक भएन भन्दै दुई तीन घन्टाकै फरकमा खाने गर्दा स्वास्थ्यमा नोक्सान गर्छ’‚ उनले भने।