असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल – Himalayan Dainik

असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल


असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल

काठमाडौं –  काठमाडौं महानगरपालिकाले असन–इन्द्रचोक क्षेत्रका मन्दिर सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउन थालेको छ ।

काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउन थालेको हो ।

वडा कार्यालयले आइतबार मन्दिर तथा सम्पदा क्षेत्रबाट अवैध पसल हटाउन २४ घन्टे अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम सकिएलगत्तै महानगर प्रहरी अतिक्रमित पसल हटाउन पुगेको हो ।

इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेवल (माटोको भाँडा कुँडा)का पसल लगायत अन्य व्यापार व्यवसाय हटाउन थालिएको वडाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्ने गरी कुनै व्यवसाय गर्न नदिने अभियान सबैतिर लागू गरिने जानकारी दिए ।