पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार ‘ – Himalayan Dainik

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार ‘


पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार ‘

काठमाडौँ –  अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई’ निशा घिमिरे स्मृति पुरस्कार २०७९ ‘प्रदान गरिएको छ।

उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रम आयोजना गर्दै पुरस्कार प्रदान गरेको हो।

घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र सहयोग कोषमा रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितमिा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दागर्दै दुर्घटनामा परेर घाइते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए।

मोडलिङको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिएका हौं। यसले उहाँहरूको भविष्यमा केही सहयोग गर्ने आशा छ,’ उनले भनिन्। पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ।

कोषका संयोजक दुर्गानाथ दाहालले निशाको उपचारको लागि उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए।

कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र अभिनेत्री मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानले कलाकारहरूलाई प्रोत्साहित हुने बताए।