अध्यक्ष तिमिल्सिनाले भने–संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस् – Himalayan Dainik

अध्यक्ष तिमिल्सिनाले भने–संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्


अध्यक्ष तिमिल्सिनाले भने–संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्विप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् । सोमवार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताए । सोही कार्यक्रममा बोल्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरीत भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनी राष्ट्रिय सभालाई प्रश्न गरेका थिए ।

राष्ट्रियसभा आफैँले संविधानको, सङ्घीयताको विरुद्धमा गएर विधेयकहरू पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्विप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए । उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे ।

अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्विपका कारण सांसदहरूले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे । उनले सरकारले ल्याएका कुनैपनि विधेयकहरू फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरु पार्टीको ह्विपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्विप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताए । उनले हालै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा बिरोध जनाएका सांसदहरु नै पास गर्ने बेलामा संसदबाटै भागेको बताए । उनले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पारे ।

उनले अहिले संघीयता ठिक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभई संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको उनले बताए ।