काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक मतभेदका कारण शिक्षा पद्धति सुधार गर्न अप्ठ्यारो परेको बताएका छन् ।
महोत्तरीमा रहेको निर्मल लामा बहुप्रविधि शिक्षालयको बर्दिबास-११ स्थित खयरमारामा शैक्षणिक भवनको शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
व्यावसायिक, प्राविधिक, उत्पादनमुखी र जीवन उपयोगी शिक्षाका लागि अझै पनि राजनीतिक पार्टीका केही मान्छेहरु तयार नभएको उनले बताए । २०७४ सालमा समाजवादको नयाँ यात्रा तय गर्दादेखि नै शिक्षालाइ उच्च महत्त्व दिने र शिक्षामा २० प्रतिशत बजेट खर्च गर्ने भनिएको भए पनि भनेजस्तो नभएको उनले बताए ।
‘राजनीतिक वृत्तमा शिक्षालाई सुधार गर्ने विषयमा अहिले पनि मतभेद छ,’ दाहालले भने, ‘शिक्षामा परिवर्तन नचाहने मानिसकै कारण बनेको शिक्षा ऐन अघि बढ्न सकेको छैन ।’
खयरमाराको परिचय शिक्षाकै कारण फेरिँदै गएकोमा उनले खुसी व्यक्त गरे । ४० सालतिर भूमिगत भएर पुग्दा देखेको अत्यन्तै दुर्गम ठाउँमा अहिले प्रदेशकै नमुना शिक्षालय चलिरहेकाले खयरमारा समृद्धितर्फ लम्किएको उनको तर्क थियो ।
उक्त शिक्षालयलाइ प्रदेशमा मात्रै नभएर देशकै नमुना शिक्षालय बनाउन दाहालले आग्रह गरे । कोरिया सरकारको १ अर्ब ५ करोड सहयोगमा जाइकाले निर्माण गर्ने शैक्षणिक भवनको सोमबार अध्यक्ष दाहालले शिलान्यास गरेका हुन् ।