सुरक्षागार्ड पक्राउ घटनामा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह – Himalayan Dainik

सुरक्षागार्ड पक्राउ घटनामा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह


सुरक्षागार्ड पक्राउ घटनामा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड पक्राउ परेको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन ।

लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई मन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै तीव्र आलोचना हुन थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका हुन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यो घटना लाइनमा नबसेको कारणले नभइ आफ्नो अङ्गरक्षकमाथि दुर्व्यवहार गरिएको कारणले भएको दाबी गरेका छन ।

मन्त्री श्रेष्ठले सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र हुन लागेको भन्दै सजक हुन पनि गरेका छन ।

उनले सामाजिक संजालमा लेखेका छन , ‘छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभइ म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’