फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै मन्त्री पौडेलद्वारा आपत्ति – Himalayan Dainik

फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै मन्त्री पौडेलद्वारा आपत्ति


फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै मन्त्री पौडेलद्वारा आपत्ति

काठमाडौँ – शिक्षामन्त्री देवेन्द्र पौडेलले फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए ।

मन्त्री पौडेलले भने, ‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफै पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’

उनले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहीँका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो’ उनले भने । नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । तर, फिल्ममा देखाइएजस्तो समावेशीता र गरिबीको कुराप्रति आफ्नो ऐक्यबद्धता रहेको उनले सुनाए ।