बेलारुसमाथि अमेरिका, क्यानडा, बेलायत र इयुको नयाँ प्रतिबन्ध – Himalayan Dainik

बेलारुसमाथि अमेरिका, क्यानडा, बेलायत र इयुको नयाँ प्रतिबन्ध


बेलारुसमाथि अमेरिका, क्यानडा, बेलायत र इयुको नयाँ प्रतिबन्ध

काठमाडौँ – मध्य युरोपेली मुलुक बेलारुसमाथि अमेरिका, क्यानडा, बेलायत र युरोपेली संघ (इयु)ले नयाँ प्रतिबन्ध लागू गरेका छन्। बेलारुस सरकारले मानव अधिकार उल्लंघन गरेको र आप्रवासीमा अनियमितता गरेको आरोपमा ती मुलुकले नयाँ प्रतिबन्ध लगाएका हुन्।

बेलायतका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोको सरकारले युरोपेली संघको सीमामा मानवअधिकार उल्लंघन गरेको र आप्रवासी ओसारपसार गर्न गोप्यरुपमा योजना बनाएको आरोप अमेरिका, बेलायत, क्यानडा र युरोपेली संघले लगाएका छन्।

सो आरोपमा दुई उत्तर अमेरिकी मुलुक, बेलायत र संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बेलारुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्। बेलारुसले आन्तरिक व्यक्ति र संस्थालाई समेत लक्षित गरेको आरोपसमेत ती मुलुकहरुले लगाएका छन्।

गत महिना पोल्याण्डले आफ्नो मुलुक प्रवेश गर्न खोज्ने सयौं आप्रवासी र शरणार्थीलाई बेलारुस सीमानामा रोकेको थियो। पोल्याण्डले रोक लगाएपछि जबर्जस्ती प्रवेश गर्न खोज्ने हजारौं आप्रवासी र सम्बन्धित निकायबीच झडपसमेत भएको थियो। सो समूहलाई रोक्न सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।

बेलारुस सरकार र अन्य पश्चिमा पक्षधरबीच गत अगष्टपछि तनाव सुरु भएको थियो। यसअघि पनि अमेरिका र युरोपेली मुलुकहरुले बेलारुसमाथि कैयौंपटक विभिन्न प्रतिबन्ध लगाइसकेका छन्।