कांग्रेस बागमतीको सभापतिमा बानियाँ निर्वाचित – Himalayan Dainik

कांग्रेस बागमतीको सभापतिमा बानियाँ निर्वाचित


कांग्रेस बागमतीको सभापतिमा बानियाँ निर्वाचित

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

दोस्रो चरणको मतदानमा बानियाँले अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन्।दुई हजार २५ मतमध्ये बानियाँले १०८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरे। १३ मत बदर भएको थियो।

पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसङ्ख्या नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो। यस पटक उनले ५३ प्रतिशत मत प्राप्त गरेका छन्।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट बानियाँ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केसी चुनाव लडेका हुन्। पूर्व महामन्त्री कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन जनाएका थिए।

पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए। त्यस्तै, प्रधानले १९७ मत प्राप्त गरेका थिए। प्रधानको मत दुईतिर बाँडिएको देखिएको छ।

सभापतिमा निर्वाचित भएपछि बोल्दै बानियाँले भने, “यो कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा हो, लोकतन्त्रको सुन्दर अभ्यास हो। यसमा कोही हारेको छैन, कोही जितेको पनि छैन। जुन दिन कांग्रेसले जनताको बीचमा जित्छ त्यो दिन मात्र माला, खादा र अबीर लगाऔंला।”

बानियाँ बागमती प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता हुन् ।