हुम्लामा हिमपात हुन थाल्यो – Himalayan Dainik

हुम्लामा हिमपात हुन थाल्यो


हुम्लामा हिमपात हुन थाल्यो

काठमाण्डौ – हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ ।

सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका बासिन्दाले आगो ताप्न थालेका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज र भोलि उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।

यी प्रदेशका पहाडी जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उहाँले बताउनुभयो । यो प्रणालीको असर बिस्तारै प्रदेश(१ र २ मा पनि देखिन थालेको छ । मौसमविद् समिर श्रेष्ठकाअनुसार यो प्रणालीकै कारण तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौमा भने आंशिक रुपमा मौसम खुलेको छ । तर, दिउँसो पछि पूर्ण बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ ।