प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न गठबन्धन सरकारको निर्णय – Himalayan Dainik

प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न गठबन्धन सरकारको निर्णय


प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न गठबन्धन सरकारको निर्णय

काठमाडौं – सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

आझ बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निर्णय गरेको हो ।

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी थिए ।

कोरोना संक्रमण भएपछि जबरा गएको सोमबारदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत छन् । सर्वोच्च अदालतको इतिहासमै हिजो पहिलो पटक गोला प्रथाबाट पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि इजलासमा सुनुवाइ हुन सकेको थिएन ।
प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । स्रोतका अनुसार जबराले आफू कोरोना संक्रमण भई अस्पतालमा उपचाररत रहेको विषयमा सर्वोच्च अदालतमा आधिकारिक जानकारी गराएका छैनन् ।

संविधानको धारा १२९ को ६ मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।