नेपाली चिया निर्यातमा भारतको अवरोध – Himalayan Dainik

नेपाली चिया निर्यातमा भारतको अवरोध


नेपाली चिया निर्यातमा भारतको अवरोध

काठमाण्डौ, १५ मंसिर – नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ । एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फिक्कलका इन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार निर्यात खुलाउन काठमाण्डौमा रहेको भारतीय दूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्यदूतको कार्यलयमा हिजो पत्र पठाइसकिएको छ। यसबारे दुई देशबीच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उनले बताए ।

भारत पठाउन लागिएको १५ हजार किलो चिया झापाको काँकडभिट्टाको भन्सार कार्यलयमा नै रोकिएको चिया उद्यमी ग्रीनहील टि इन्डस्ट्री प्रालिका प्रोप्राइटर टङ्क दाहालले बताए । भारतको टि बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लङ्घन गरेको उनको भनाई छ ।

नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।