स्मृतिमा रारा ताल: संस्मरण – Himalayan Dainik

स्मृतिमा रारा ताल: संस्मरण


स्मृतिमा रारा ताल: संस्मरण

-एसपी उप्रेती

जीवनको महत्वपूर्ण आयाममध्येमा पर्दछ यात्रा । बाँच्न गरिने संघर्षको यात्रा, बचाउनका लागि गरिने यात्रा र अन्ततः जीवनका उद्देश्य हासिलका लागि तय गरिने हिँडाइँ आदि यात्राकै विशेष रुपहरु हुन् । अझ भन्नुपर्दा खुशीका लागि मानिसहरुले ठूलै छलांग मार्छन् नियमित यात्राको ।

मनले मनभित्रै गर्ने यात्रा र भौतिक रुपमै संसारमा गरिने यात्राहरुले जीवनमा निकै ठूलो भूमिका खेल्ने गर्दछ । साँच्चै भन्ने हो भने यात्रा बिनाको जीवनको परिकल्पना हुन सक्दैन ।

जति पनि मानवको विकास भयो त्यो सबै यात्राबाटै सुरु भए । जंगलमा शिकार खोज्न होस् वा आधुनिक युगमा कामका लागि स्वदेश वा विदेश जान किन नहोस् । तसर्थ यात्राले हाम्रो जीवनको हरेक अवस्थालाई चलायमान बनाउँछ ।

यसै क्रममा मेरो पहिलैदेखिको एउटा विशेष स्थान रारा तालको भ्रमण गर्नु थियो । भनिन्छ मनले सोचेको पूरा हुन्छ । हुन त एक हिसाबले भन्दा रारा जाने कुरा ठूलो नहुन सक्छ ।

तर पैसा मात्रै जुटाएर पनि नहुने स्थानको भ्रमण उति सहज त कहाँ हुँदो रहेछ र ? पहिलो समयको चाँजोपाँजो मिलाउनु पर्यो । दोस्रो हवाई टिकट वा गाडीमा यात्रा गर्ने मानसिक तयारी, त्यसपछि होटल लगायतको आन्तरिक व्यवस्थापन आदि गर्नुपर्ने ।

मेरा लागि यी सबै कुराहरु सेकेण्डरी भए । मेरो फरक अनुभव भने विजया दशमी र दीपावली तथा तिहारका विशेष दिनहरुमा समेत अफिसियल जिम्मेवारी बहन गरिरहनु परेको अवस्थामा रारा ताल घुम्न जाने करिब एक हप्ता स्वतन्त्र विदा मिलाउन गाह्रो थियो ।

हुन त परीक्षा तथा अन्य व्यक्तिगत कठिनाइमा अफिसबाट सदैव सहयोग हुँदै आएको नै छ । मेरो साथीले भाइटीकाकै दिन वा भोलिपल्ट रारा तालको लागि प्रस्थान गर्नैपर्ने बतायो ।

तर मैले भने अफिसको बाध्यतालाई ध्यानमा राखेर भाइटीकाको पर्सिपल्ट मात्रै भ्रमणमा जाने भयौँ । जसका लागि मैले गणेश सरसँग अनुरोध गरेँ । उहाँले पनि अफिसको कार्यलाई प्रभावित नहुने गरी व्यवस्था गरेपछि भने मलाई सहज भयो । त्यसपछि भयो हाम्रो रारा इज अन ।

त्यसपछि म कात्तिक २२ गते विहान करिब ११ बजे झापाबाट नेपालगञ्जका लागि प्रस्थान गरेँ । सायद दिवा सेवाको बस परेछ निकै कष्टकर र बिर्सन लायक यात्रा बन्यो । जीवनमै पहिलो पटक त्यति झन्झटिलो यात्रालाई स्वीकार्दै हेटौँडाबाट भने गाडी परिवर्तन गरी नेपालगञ्जका लागि हिँडियो ।

हाम्रो भ्रमणमा कोही चितवनबाट त कोही काठमाडौँबाट नेपालगञ्जमा भेट्ने योजना थियो । जसअन्तर्गत हामी सबै जना मंगलबार विहान नेपालगञ्जमा भेटियौँ र त्यहीँ बसेर जसोतसो राराको लागि ताल्चा विमानस्थल पुग्ने हवाई टिकट मिलाउन व्यस्त बन्यौँ ।

हामी स्वतन्त्र रुपमा गएका थियौँ । कुनै एजेन्सी बिना नै जसले गर्दा आफैँले सबै व्यवस्थापन गर्न एक किसिमको कठिनाइ भने भयो । यद्यपि जाँदा खेरि समिट एयरकै कोही अफिसरको सहयोगले वुधबार ताल्चा एयरपोर्ट पुग्यौँ । त्यसपछि राराको लागि यात्रा औपचारिक रुपमा शुभारम्भ भएको महसुस भयो ।

देशकै दोस्रो खतरा विमानस्थलका रुपमा रहेको कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्लको छायानाथ रारा नगरपालिका स्थित २७२० मिटर उचाइमा रहेको रारा विमानस्थल वा ताल्चा विमानस्थलमा वुधबार अवतरण भयौँ । त्यहाँको मनोरम दृश्यमा केहीबेर रमाएपछि हामी जीपको व्यवस्था गरेर सल्लेरी भन्ने स्थानमा गयौँ । जहाँ हामी सांग्रिला होटलमा बस्यौँ ।

हामी त्यहाँ पुगेकै दिन हामीले सोचेजस्तो चिसो थिएन । तापक्रम ३ डिग्री थियो । मैले त मजाले चिसै पानीले नुहाएँ । जस्तै चिसोमा पनि नियमित नुहाउने बानी जो छ ।

त्यस दिन हामीले सामान्य भेज खाना खायौँ । सामान्य तवरले राराको आसपासका क्षेत्रहरुको जानकारी लियौँ । अलिक अप्ठ्यारो कुरा भने मोबाइलको नेटवर्क थिएन । तर पनि एनटीसीको सीम भने राम्रै चलेको देख्दा खुशी लाग्यो ।

उता वाइफाइको व्यवस्था भने निकै राम्रो थियो । त्यहाँसम्म पुग्ने बाटो एकाध बाहेक राम्रै कच्ची सडक थियो । दशैँको अन्तिमतिर परेको मुसलधारे पानीका कारण भने केही केही स्थानमा निकै कठिनपूर्ण यात्रा बनायो ।

नेपालका विभिन्न ठाउँबाट रारामा रमाउन मानिसहरु आएका थिए । सबैलाई भोलिपल्टको पर्खाइ थियो । किनकी सपनाको संसारमा पुग्ने दिन थियो बिहीबार विहान ।

मेरा केही साथीहरुले आफैँ कफी लिएर गएका कारण हामी जाडो छल्न बेला बेला कफी खान्थ्यौँ । साँझ स्थानीय रायोको साग र राजमासँग खाना खाएर बेलैमा सुत्यौँ, भोलिपल्ट राराको काखमा पुगेको कल्पना गर्दै ।

सदाझैँ सबेरै उठियो । बिहीबार विहान भने रारातिर जान हामी सबै आतुर थियौँ । हामीसँगैका केही साथीहरु भने घोडामा चढेर रारा जाने भए । हामी केही भने हिँड्दै तमतयार बन्यौँ । करिब २ घण्टा हिँडेर राराको प्रांगण पुगियो ।

हिँड्दाखेरिको छुट्टै आनन्दको शब्दमा बयान गर्न नसकिने खालको थियो । अत्यन्तै मनमोहक सिन, चिसो मौसम, विहानीको घामको किरण अनि विशेष मानिससँगको साथ आदि कुराले त्यो बाटो पनि उत्तिकै रोमाञ्चित बनायो ।

हामी करिब २ घण्टाको यात्रापछि रारा राष्ट्रिय निकुञ्जमा अवस्थित समुद्र सतहदेखि ३००० मिटर उचाइमा रहेको तथा लम्बाइ ५ किमि तथा २.७ किमि चौडाइसहित १०.८ वर्ग किमिको क्षेत्रफलमा फैलिएको मुगु जिल्लामा रहेको ऐतिहासिक रारा तालमा पुगियो ।

त्यो पलको बयान गर्न नसकिने रहेछ । यो त अनुभूतिको कुरा रहेछ । साँच्चै जीवनको दुर्लभ विशेष अनुभवमध्येको एक रह्यो रारासँग मेरो सानिध्य ।

त्यति मात्रैले पनि हामीलाई पुगेन । त्यसपछि हामी करिब २ किमिको बाटो उकालो चढेर मुर्मा टप पुग्ने चेष्टा गर्यौँ । सबैले हिँड्न सक्ने अवस्था नभएपछि हामी केही साथीहरु घोडामा जाने भयौँ । करिब अढाइ घण्टाको उकालो चढेपछि मुर्मा टपमा पुगियो ।

त्यहाँ पुगेपछि रारा ताल कचौरा जस्तो आकारमा देखिएको दृश्यलाई कैद गरियो । मैले त्यहाँ योगका केही पोस्चरहरु रारालाई पृष्ठभूमिमा राखेर खिचेँ । मेरो जीवनको विशेष पललाई सुरक्षित गरेको महसुस गरेँ । केही समय ध्यान गरेर बसेँ । त्यसपछि अपराह्नतिर पुनः तल झर्यौँ । त्यसपछि भने हामी पुनः सल्लेरीस्थित होटलमा फर्कियौँ ।

 

थोरै त्यहाँको रहनसहन र प्रकृतिलाई चिहाउने कोसिस गर्यौँ । जहाँ विभिन्न स्थानीय किसिमका उत्पादन हुने कुरा थाहा पायौँ । जस्तै कि राजमा सिमी, मह, जडिबुटिको चिया, दाँते ओखर तथा ऊनका स्वीटरहरु आदि ।

घुम्न रमाउन साँच्चै नै मनमोहक स्थान रहेछ । राराको दृश्यलाई विभिन्न कोण र समयमा कैद गरेर आनन्द लिनु तथा घण्टौँ प्रकृतिको काखमा ध्यानमग्न हुनु वा कुनै सृजनशील कार्य गर्नु आदि । मेरो सबै कुरा पूर्ण भयो । तर बोटिंग गर्ने धोको भने अधुरै रह्यो ।

हामी सल्लेरीमा बास बसेर शुक्रबार विहान रारा विमानस्थल फर्कियौँ । त्यस बेलुकाको डिनर हामीले लोकल च्यांग्राको मासुसँग खायौँ । मेरो पहिलो अनुभव थियो । मासुमा मेरो त्यति धेरै शोक नभएर होला नियमित खाने खशीको जस्तो महसुस भएन । खैर उनीहरुले गरेको सत्कार प्रति आभार छ ।

हामी स्वतन्त्र रुपले रारा भ्रमणमा निस्किएकाले हामीसँग कुनै पनि फिर्ती टिकट थिएन । हामीले सामान्य तवरले शुक्रबार नै फर्किनको लागि कोसिस गर्यौँ । तर त्यहाँका स्थानीयको दर्दनाक अवस्था देखेर आँखा रसाए । र हामीले हाम्रो फिर्ती भन्दा उनीहरुको बाध्यता महत्वपूर्ण देख्यौँ । खैर शनिबारका लागि टिकट मिलाउन कसरी भनेर सोच्न थाल्यौँ ।

सामान्य तवरले अझै केही दिन कुर्नुपर्ने अवस्था आएको तर सबैको जरुरी अवस्था आएपछि भने मेरा साथीहरुले मुगु जिल्लाका सीडीओसम्म पुग्ने अवस्था आइलाग्यो ।

त्यसपछि भने विमानस्थलका सुरक्षा प्रमुख असईले हामीलाई शनिबार तारा एअरको विमानबाट नेपालगञ्ज आउने व्यवस्था गरिदिए । जसका लागि हामी अनुग्रहीत छौँ सबैमा ।

वास्तवमा विमानस्थलको अवस्था दयनीय देखियो । स्थानीयका अनुसार अहिले सिजन भएर मात्रै हो भन्दै थिए । खैर हामीले भने सीमित उडानहरु हुने भएकाले स्थानीयहरु हप्तौँसम्म पनि टिकट पर्खन बाध्य हुँदारहेछन् ।

त्यस्तै, रारा घुम्न आउने मानिसहरुकै रिटर्न टिकट हुने भएकाले पनि स्थानीयलाई ग्राहयता दिन नसकिएको विमानस्थलका कर्मचारी तथा उडान भर्ने विमान कम्पनीका स्थानीय कर्मचारीले बताए ।

भर्खरै सुनियो कि समयमा टिकट नपाउँदा नवजात शिशुको निधन भयो भनेर । यस्ता दर्दनाक अवस्थाको चित्रण भएपछि भावुक हुँदै मेरी एक जना साथीले जसरी नि सीडीओ बनेर यस्तै ठाउँको विकासका लागि विशेष कार्य गर्नेछु भन्ने प्रण गरिन् । उनको त्यो लक्ष्य चाँडै पूरा होस् भन्ने शुभेच्छ गर्दछु ।

यसैबीच हामी शुक्रबार मुगुको सदरमुकाम गमगढी बस्ने भयौँ । जनता प्लाजा नामक होटलमा जाने भयौँ । यस दौरान मुगुका पूर्व एमालेका अध्यक्ष तथा हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष धर्म बहादुर शाहीसँग परीचय भयो ।

उनकै सिफारिसमा जनता प्लाजा गइयो । शाहीसँगकै परीचयका क्रममा गमगढी बस्ने भाइ बहिनीहरुसँग पनि चिनजान भयो । र एउटै जीपमा चढेर गमगढी बजार गयौँ ।

बाटोमा जाँदा उनीहरुलाई मैले विमानस्थलमा तराईमा पाइने भोगटे जस्तै फल (नाम भने अप्ठ्यारो छ) खुवाएकोमा धन्यवाद दिँदै आफ्नै घरमा चाँही के के खुवाउँछौ भन्दै जिस्क्याएँ ।

जे होस् नेपालीहरुमा पाहुनालाई सत्कार गर्ने परम्परा अझै पनि जीवितै छ । जसको फलस्वरुप उनीहरुले हामीलाई आफ्नो घरमा आमन्त्रण गरे र हामी पनि गयौँ । जहाँ हामीले स्थानीय निबुवालाई चिनीलगायत हालेर साँधेको चुक खायौँ ।

त्यस्तै, दाँते ओखर खायौँ । उनीहरुको आफ्नै बारीको अग्र्यानिक आलु टिमुरको अचारसँग खायौँ । जडिबुटीको चियाको चुस्की पनि लियौँ । मिठा गफगाफ गर्दै त्यहाँको तस्वीरहरु पनि कैद गर्यौँ । मेरा लागि पीर्कामा बसेर आलु खानु निकै अनौठो लाग्यो ।

त्यसपछि हामीलाई उनीहरुले केही पर मुगु कर्णाली बगेको देखाउन लगे । बजारसम्म नै नदी बगेको आवाज आउँदो रहेछ । मुगु कर्णाली नदीलाई छोएर आउने धोको पनि पूरा हुन सकेन समय अभावका कारण ।

यद्यपि, केही केही कुराहरु अधुरै रहनु पनि जीवन बाँच्नुको मजा नै हुने रहेछ । त्यहाँ भाइ बहिनीहरुले कालो पोथी फिल्मको बारेमा चर्चा गरेका थिए । त्यसमा खेल्ने कलाकार तथा निर्देशकको बारेमा पनि प्रसंग उठाएका थिए ।

शुक्रबार साँझ हामी भाइबहिनीहरुले गरेको सत्कारका लागि धन्यवाद ज्ञापन गर्दै जनता प्लाजामा फर्कियौँ । हाम्रो त्यहाँको बसाई निकै सुखद रह्यो । शनिबार बिहानै उठेर हामी तिनै भाइबहिनीहरुसँग के कस्तो रह्यो गमगढीको बसाई भन्दै रमाउँदै स्थानीय जीपमा चढेर रारा विमानस्थल पुग्यौँ ।

करिब विहान ८ बजेको हुँदो हो । त्यहाँ त्यति धेरै मानिसहरुको उपस्थिति रहेको थिएन । तर त्यहाँ यो सिजनको बेलामा विहानैदेखि टिकटका लागि मानिसहरुको बाक्लो उपस्थिति रहने कुरा स्थानीयहरु बताएका थिए ।

तर त्यो अवस्था सधैँ भने नरहँदो रहेछ । अन्य समयमा चाँही टिकटका लागि आह्वान गर्नुपर्ने हुन्छ रे । खैर त्यहाँ बिरामीहरु समेत समयमा अस्पताल जान नपाएर मृत्यु वरण गर्नुपर्ने दर्दनाक अवस्थाबारे सुन्दा हामी भावुक भयौँ ।

अँ साँची शनिबार विहान त हामीले चिया समेत खाएका थिएनौँ । घरबाटै लगेका ड्राइ फुड्स खाएर आफ्नो भोक मेटाउने प्रयास गर्यौँ । हामीलाई सीडीओकै फोन आयो र आज भने टिकटको व्यवस्थापनका लागि निश्चित हुने जानकारी दिए । हामी विश्वासमा चाँही थियौँ तर ढुक्क भने थिएनौँ ।

यसैबीच बाँकी रहेको समयलाई सदुपयोग गर्न करिब १२ वर्षको बालकले मुगुकै स्थानीय स्याउ र स्याउकै सुकुटी बेच्न राखेको मैले खाएँ । मलाई त निकै मिठै लाग्यो तर साथीहरुलाई भने उति गजब लागेन रे । सायद मुस्तांगको जस्तो नभएर होला ।

त्यस्तै, हिजो मात्रै कालो पोथीमा खेल्ने भाइको बारेमा गमगढी कुरा भएको थियो । शनिबार गजबको संयोग जुर्यो कि त्यही फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका शुक्राज रोकायासँग भेट भयो । अझै रोचक कुरा त के भने म आफैँले पनि रारामा गिटार लिएर जान पाए हुन्थ्यो भन्ने सोचेको थिएँ ।

तर कारणवश पाइएको थिएन । यद्यपि मनले सोचेको पूरा हुन्छ नै । आखिर त्यस्तै भयो शुक्राज भाइले बजाउने गिटार ल्याएका रहेछन् । जुन गिटारका साथमा मैले भिडियो र फोटाहरु खिच्ने अवसर पाएँ । त्योसँगै मेरो एउटा सानो रहर पनि पूरा भयो । साह्रै सानो कुरा होला ।

तर अक्सर खुशीहरु यस्तै सानातिना कुराहरुमै जोडिएका हुँदारहेछन् । साथसाथै मैले टुटेफुटेको आवाजमा गीत पनि गुनगुनाउने प्रयास गरेँ । यदाकता लाग्यो कि मैले सर्जकहरु प्रति कतै अन्याय पो गरेँ कि । फेरि सोचेँ कि मैले आफैँमा रमाउने कोसिस गर्नु नै ठूलो कुरा हो ।

अन्ततः हामीलाई तारा एयरको ट्रवीन अटरमा नेपालगञ्जका लागि टिकट मिल्यो । र हामी करिब ७ दिनको यात्रालाई बीट मार्दै फर्कियौँ ।

रारामा जिन्दगी रहेछन् । त्यहाँका केही गाउँका परिवारहरुले घोडा पालेर आफ्नो जीवन सहज बनाएका रहेछन् । घोडाले पर्यटकहरुलाई गन्तव्यसम्म पुर्याएर सेवा साथै मेवा पाउँदा रहेछन् ।

त्यस्तै, कतिपयले होटल व्यवसायबाट पनि मनग्गे कमाउँदा रहेछन् । त्यस्तै, गाउँमा राजमा, प्राकृतिक फूलहरुबाट बनेको मह, ओखर, जडिबुटी चिया तथा ऊनका हाते स्वीटर बुनेर पनि आम्दानी गर्दारहेछन् ।

त्यस्तै, रारामा दुःख रहेछ । वेदना र पीडा पनि रहेछ । राराकै काखमा रहेको होटलका कारण तालमा फोहोर हुन सक्ने सम्भावना रहेछ । त्यस्तै, त्यहाँका मानिसहरुलाई निकै व्यथा रहेको महसुस भयो ।

विशेषगरी बिरामी हुँदाको दयनीय अवस्था हुने रहेछ । कास गुणस्तरीय कालोपात्रे सडक त्यहाँसम्म पुग्ने भए र नियमित आवश्यक उडान भए जीवन केही सहज हुने थियो ।

त्यहाँ केही समय क्षणिक रुपमा रहेकाले के पो दुःख बुझ्ने होला र ? खैर रारामा हाँसो, रोदन, दुःख, पीडा र व्यथा सबै रहेछन् । मानिसहरु त्यही दुःखमा रमाइरहेका छन् त एक सुनौलो विहानीको पर्खाइमा रहेका छन् । उनीहरुको निम्ति एक विशेष किरण आओस् भन्ने मनमनै कामना गरेँ ।

त्यही कामनासँगै मेरो जीवनमा राराको ति विशेष यादहरु थपिएका छन् कहिल्यै नमेटिने गरी । यो यात्रामा विभिन्न तवरले सहयोग गर्नुहुने सबैमा हृदयदेखि नै आभार व्यक्त गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रारा जानुहुनेछ भन्ने विश्वास गर्दछु ।