चोरीका २३ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण – Himalayan Dainik

चोरीका २३ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण


चोरीका २३ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं, १२ मंसिर – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाइकल वरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।