रामदेवको टीभी उद्घाटन : शेरवहादुरको जङ्गे शैली – Himalayan Dainik

रामदेवको टीभी उद्घाटन : शेरवहादुरको जङ्गे शैली


रामदेवको टीभी उद्घाटन : शेरवहादुरको जङ्गे शैली

काठमाडौं -भारतका योगगुरु रामदेवले नेपालबाट पनि सञ्चालन हुनेगरी आस्था नेपाल र पतञ्जली नेपाल नामक दुईवटा टेलिभिजन च्यानल सञ्चालन गर्न थालेका छन् । यी दुई धार्मिक र योग च्यानल स्थापनाको अवसरमा काठमाडौंको मण्डिखटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासमेत उपस्थित भएर  २०७८ मंसिर ३ गते शुक्रवार टेलिभिजन उद्घाटनसमेत गरेका थिए ।

प्रधानमन्त्रीबाट नै यसरी विदेशी नागरिकले विदेशी लगानीमा अवैध दुईवटा टेलिभिजन च्यानल उद्घाटन गरेको घटनालाई लिएर सञ्चार र कानून मन्त्रालयका उच्च अधिकारीहरुले समेत आश्चर्य व्यक्त गरेका छन् । नेपालकाे कानून, नियम र नीतिवरूद्धकाे उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धन दलका नेता प्रचण्ड, माधव नेपाललगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ बमोजिम  आमसंचारका माध्यमहरु पत्रपत्रिका, रेडियो, टिभी तथा अनलाइनमा विदेशी लगानीलाई निषेध गरिएको छ । तर भारतीय लगानीबाट सञ्चालित हुने र नेपालको कुनै पनि सरकारी निकायमा दर्ता नभएका अवेध दुईवटा विदेशी च्यानललाई मुलुकको प्रचलित कानूनलाई नै लत्याउँदै प्रधानमन्त्री देउवा स्वयम् ले उद्घाटन गरेको घटनालाई लिएर सर्वत्र आश्चर्य मानिएको छ । याे घटनाकाे चैतर्फी विराेध समेत भएकाे छ ।

प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख भएको अवस्थामा यसरी प्रचलित कानून लत्याउँदै कुनै पनि सरकारी निकायमा दर्ता नभएका यी दुई टीभी भारती च्यानलको जंगबहादुर शैलीमा उद्घाटन गरेर वैधानिकता दिन खोज्दै कानूनको शासनमाथि समेत विदेशीको दबाबमा परेर धज्जी उडाएको यो घटनाले नेपाली जनताले शिर निहुराउनुपर्ने अवस्था आएको छ ।

विदेशी लगानीबाट नेपालको कुनैपनि सरकारी निकायमा दर्ता नभई यसरी टेलिभिजन च्यानल स्थापना हुनु र त्यसरी स्थापना भएका गैरकानूनी टेलिभिजन च्यानलको प्रधानमन्त्रीलगायत सत्तारूढ दलका नेताहरूबाट संयुक्त रूपमा उद्घाटन भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पत्रकार महासंघले २०७८ मंसिर ५ गते महासचिव राेशन पुरीद्वारा प्रकाशित  प्रेस विज्ञप्तिमा भनिएकाे छ-”भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

”नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा  विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

”दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२  र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ ।”

”स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ ।”

”महासंघ कानूनविपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।”

उता सरकारको प्रवक्तासमेत रहेका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो घटनाको सम्बन्धमा कुनै प्रतिक्रिया नदिने भनेर उम्किने काम गरेका छन् ।

साँघु न्युज